ऐतिहासिक जनकपुर सहरले पहिचान र प्रतिष्ठा गुमाउँदै

जनकपुरधाम, १२ माघ । फोहर फाल्ने उचित ठाउँको अभाव, नगर क्षेत्रभित्रै जताततै फोहरको थुप्रो, खुला नाला, हिलाम्य बाटो, छाडा गाईवस्तु तथा लामखुट्टे आतङ्कले आजभोलि ऐतिहासिक सहर जनकपुर पहिचान र प्रतिष्ठा गुम्दै गइरहेको छ । उपमहानगरपालिका घोषणा भएको झन्डै दुई महिनाभन्दा बढी समय भइसकेको छ । तर उचित ‘डम्पिङ साइट’को अभावमा सडक पेटीमै फोहर फ्याँक्न बाध्य छ – जनकपुर उपमहानगरपालिका । जनकपुरलाई सङ्घीय प्रान्तको राजधानी बनाउन दिनहुँजसो राजनीतिक कसरत हुने गरेको छ । तर फोहर फाल्ने स्थायी ठाउँको अभावमा जनकपुर दुर्गन्धित बन्दै गइरहेको छ । यो मृत सहर जस्तै भएको छ ।
janakpur

जनकपुर उपमहानगरपालिकाभित्र दैनिक २५ टन फोहर निस्कने गरेको छ । त्यसको विसर्जन भने ऐतिहासिक बेला नदी किनार, जिरोमाइल, मुजेलिया, पिराडीको सडक छेउमै गर्नाले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको जनगुनासो आउन थालेको छ । त्यस्तै, जनकपुरको मुटु मानिने शिव चोकस्थित होटल वेलकमबाट निस्कने फोहरका कारण त्यहाँका व्यापारीलगायत बटुवा नाक थुनेर हिँड्नुपर्ने स्थिति रहेको स्थानीय व्यापारीहरु बताउँछन् ।

जउनपा–२३ बेला बस्ने मोहम्मद इसराइलले भन्नुभयो – “स्वच्छ, सुन्दर र समुन्नत जनकपुरको कल्पना तब नै सम्भव छ जब यहाँ जथाभावी फोहर फाल्ने काम बन्द हुन्छ । जनकपुर एकातिर कुरुप बन्दै गइरहेको छ भने अर्कोतिर महामारीको जोखिममा पर्दै गएको छ ।” पहिले १६ वडामा सीमित रहेको जनकपुर उपमहानगरपालिका भएपछि २७ वटा वडामा विस्तार भएको छ । अहिलेको यहाँको जनसङ्ख्या पुग नपुग एक लाख ७० हजार छ ।

“ऐतिहासिक दूधमति नदी किनारमा फोहर फाल्दा यसको धार्मिक महत्व मासिँदै गएको छ,” जनकपुर युथ डेभलपमेन्ट संयोजन समितिका सदस्य सरोजकुमार मिश्र भन्नुहुन्छ – “बस्ती नजिक सडक छेउमा फोहर फाल्ने जुन काम महानगरपालिकाले गरिरहेको छ, त्यसलाई तत्काल रोकी ‘डम्पिङ साइट’को व्यवस्था गर्नुपर्दछ ।”

“बजार क्षेत्रका व्यापारीहरुले जथाभावी फोहर फाल्दा त्यसले पनि बजारको सौन्दर्य घटेको छ, हरेकले आफ्नो घरबाट निस्कने फोहरको व्यवस्थापन आफैँ गर्नुपर्दछ,” जउनपाका इन्जिनियर वीरेन्द्र यादवले भन्नुभयो । अहिले जउनपासँग नगर क्षेत्र सफाइ गर्ने सुइपर ५० जनामात्र रहेका छन् भने फोहर उठाउने सवारीको सङ्ख्या पाँच छ । व्यापारीले ढिलो गरी पसल खोल्ने र पसलबाट निस्कने फोहर सडकमै फाल्ने गरेकाले पनि नगर दुर्गन्धित भएको उहाँको भनाइ छ ।

जनकपुरको पहिचानको मुख्य आधार यहाँको मठमन्दिर हुन् । यहाँ देश विदेशबाट आउने पर्यटकमध्ये ९० प्रतिशत भारतीय पर्यटक रहेका छन् तर जनकपुरको दुरवस्था देखेपछि पुनः फर्केर आउने उनीहरुको मन हुँदैन । यस अतिरिक्त सुँगुरको बथान, बन्द ढल तथा सरसफाइको अभावका कारण जनकपुर नगर दिन प्रतिदिन कुरुप बन्दै गएको धनुषा विकास केन्द्रका अध्यक्ष धर्म मण्डल बताउनुहुन्छ । नगर क्षेत्रको फोहर व्यवस्थापन गर्न वार्षिक रु एक करोडभन्दा बढी रकम खर्च हुने गर्छ । यसबाट प्रत्यक्ष रुपमा सात हजार पसल तथा चार हजार घरधुरी लाभान्वित हुने गरेको बताइन्छ ।

सरकारले धनुषालाई सन् २०१७ सम्म खुल्ला दिसामुक्त क्षेत्रका रुपमा घोषणा गर्ने निर्णय लिए पनि यहाँका जनताले जिम्मेवारी बोध नगर्दा खुल्ला ठाउँमा दिसापिसाब गर्ने आम चलन हट्न सकेको छ । नगर क्षेत्रभित्र सार्वजनिक शौचालयको पनि अभाव छ । नगर क्षेत्रको विकासका लागि बर्सेनि आउने अर्र्बौं रुपैयाँ नगरको विकासमा नभएर राजनीतिक भागबन्डामा सकिने भएकाले विकासले गति लिन नसकेको नगरवासीको आरोप छ ।
एसियाली विकास बैंक (एडिबी) ले यहाँको फोहर व्यवस्थापन गर्न डम्पिङ साइटको निर्माणका लागि रु ६८ करोड उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि राजनीतिक खिचातानीले त्यो काम हालसम्म भएको छैन ।

पर्यटकीय दृष्टिकोणले पनि जनकपुर महत्वपूर्ण मानिन्छ । जानकीको ऐतिहासिक मन्दिर, राम मन्दिर, जनक मन्दिरलगायत अनेकन पर्यटकीय गन्तव्य यहाँ छन् तर तिनको सम्बद्र्धन र प्रवद्र्धनतर्फ कसैको ध्यान गएको छैन ।
छिमेकी मुलुक भारतका सहरहरुमा भएका पूर्वाधारका विकाससँगै मिथिलाञ्चलका जनकपुरले पनि आफ्नो पहिचानलाई जीवन्त राख्न सक्नुपर्छ भन्ने आवाज पटकपटक उठ्ने गर्छ तर काम भने त्यस अनुरुप भएको छैन । पर्यटकीय आकर्षणका धेरै सम्भावना भएर पनि यहाँका गन्तव्यस्थलहरु ओझेलमा परेका छन् । यहाँ केही निजी ठूला घर बने पनि सार्वजनिक प्रयोजनका लागि आवश्यक भौतिक पूर्वाधार तयार हुन सकेको छैन । रासस