चार दशमलव ७५ प्रतिशतले दूध उत्पादन वृद्धि

इलाम, २८ पुस ।

व्यावसायिक गाईपालनमा अग्रणी मानिएको इलाममा ४ दशमलव ७५ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०६९÷०७० मा एक लाख १० हजार ८१७ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा एक लाख १६ हजार ८६ मेट्रिक टन उत्पादन भएको हो ।

दूध उत्पादन वृद्धि हुनुमा गाईभैँसीमा गरिने कृत्रिम गर्भाधान मुख्य रहेको पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा किसानले व्यावसायिक रूपमा उन्नत जातका गाई पाल्दै आएका छन् ।

होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार ३७१ वटा उन्नत जातका गाई पालिएका छन् । स्थानीय जातका गाईले दूध थोरै दिने भएकाले किसानले उन्नत जातका गाई पाल्न थालेका हुन् । दूध उत्पादनमा वृद्धि भई किसानको आर्थिकस्तर समेत वृद्धि भएको छ ।

dairynepal

आर्थिक वर्ष २०६७÷०६८ मा ९९ हजार ५१३ मेट्रिक टन, आर्थिक वर्ष २०६८÷०६९ मा एक लाख पाँच हजार ९५ मेट्रिक टन दूध उत्पादन भएको थियो । उत्पादित दूध प्रतिलिटर औषतमा रु ३५ मा बिक्री भइरहेको इलाम दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक अर्जुन शिवाकोटीले बताउनुभयो ।

उन्नत जातका भैँसीभन्दा स्थानीय जातका भैँसीपालन बढी छ । तीन हजार ३७६ वटा स्थानीय जातका र तीन हजार २०६ वटा उन्नत जातका भैँसी छन् । ५५ हजारभन्दा बढी परिवार पशुपालन व्यवसायमा प्रत्यक्ष रूपमा संलग्न रहेको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताउनुभयो ।

जिल्लाको कुटीडाँडा, फिक्कल, तीनघरे, लक्ष्मीपुर, फाकफोक, विव्ल्याँटे, पुवाखोलालगायतका एक दर्जनभन्दा बढी स्थानमा चिस्यान केन्द्रबाट दैनिक रुपमा ४० हजार लिटरभन्दा बढी विराटनगरस्थित दुग्ध विकास संस्थानमा निकासी हुँदै आएको छ ।

सुलुबुङ, नेपालटार, मङ्गलबारे, सूर्याेदय नगरपालिका, पशुपतिनगर, इलाम नगरपालिका, गोदक, बरबोटे, सुम्वेकलगायतका गाविसमा व्यावसायिक गाईपालन गरिँदै आएको छ । एकजना किसानले दैनिक कम्तीमा १० लिटरदेखि ३० लिटरसम्म दूध दिने गाई पाल्ने गरेका छन् । जिल्लाबाट आयोजनामा वार्षिक एक करोड नौ लाख १७ हजार १३९ लिटर, रीतिका डेरीमा चार लाख ७४ हजार पाँच सय लिटर र जीवन विकास समाजमा चार लाख १९ हजार छ सय ९० लिटर दूध निकासी हुँदै आएको कार्यालयले जनाएको छ ।

किसानले गठन गरेका दुग्ध सहकारीबाट आएको दूध चिस्यान केन्द्र हु“दै आयोजनामा पुग्ने गरेको छ । यसबाहेक जिल्लाका विभिन्न स्थानका सरकारी र निजी चिज कारखाना, ललीपप उद्योग र निजीस्तरका डेरीले पनि दूध किन्ने गरेका छन् । गाई र भैँसीको दूध उत्पादनमा वृद्धि गर्नका लागि कार्यालयको पहलमा जिल्लाका आठ स्थानमा पशु प्रजनन केन्द्रसमेत स्थापना भएका छन् ।

गाईको दूधबाट बनाइने विभिन्न प्रकारका उत्पादनमा समेत वृद्धि भएको छ । चिज, घिउ, छुर्पी, ललीपप, पुष्टकारी, आइसक्रिम, बम्वैसन, पनिरको उत्पादन बढेको हो । दूधबाट सबैभन्दा बढी चिज पाँच लाख एक हजार किलोग्राम, घिउ ९१ हजार छ सय किलोग्राम, छुर्पी दुई लाख ९० हजार किलो, ललीपप १९ हजार ३२४ किलो, पुष्टकारी तीन हजार ५८९ किलो, आइसक्रिम दुई हजार किलो, बम्वैसन दुई हजार ९६६ किलो र पनिर दुई हजार ५०० किलो, उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । जसमा चिज गत वर्षको तुलनामा २५ प्रतिशत, घिउ चार प्रतिशत, छुर्पी २९ प्रतिशत, ललीपप दुई प्रतिशत, पुष्टकारी एक प्रतिशत, पनिर पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको हो । रासस