पर्यटकीय क्षेत्रमा खानेपानीको हाहाकार

बेनी -म्याग्दी, १४ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नं १२ मा पर्ने प्रसिद्ध तर्ीथस्थल जगन्नाथ मन्दिर रहेको गाजनेमा खानेपानीको हाहाकार भएको छ । हिउँदको सुरुवातसँगै खानेपानीका मुहान तथा धारा सुक्दै जाँदा गाजनेका २५ घरधुरीका १४० जनाभन्दा बढीलाई खानेपानीको समस्या परेको हो ।
गाउँमा पर्याप्त खानेपानीका मूल नहुनु र भएका पानीका मुहान पनि सुक्दै गएपछि मानिस र पशुचौपायाका लागि खानेपानीको अभाव भएको स्थानीयले बताएका छन् । गाउँदेखि धेरै टाढा सौरबोटमा खानेपानी भए पनि गाउँमा दक्ष जनशक्तिको अभाव र सङ्घसंस्थाको सहयोग नपाउँदा समस्या झन् थपिएको हो ।

gajane-myagdi

गाउँको पुछारमा खानेपानीको मुहान रहे पनि उक्त मुहानबाट पानी तान्ने प्रविधि खरिद गर्न आर्थिक स्रोत नभएपछि समस्या परेको जगन्नाथ प्रावि गाजनेका प्रधानाध्यापक नीलकण्ठ शर्माले बताउनुभयो । प्रधानाध्यापक शर्माका अनुसार गाजनेमा निर्माणाधीन अवस्थामा रहेको नेपालको एक मात्र जगन्नाथ मन्दिर निर्माणका लागि पनि पानीको समस्या भएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएको गाजनेको डिलबाट विभिन्न १३ वटा हिमशृङ्खलाका साथै म्याग्दी जिल्लाका ३० गाविसका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, लमजुङ र तनहँुका दर्जनौँ गाउँको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ ।

पर्याप्त पानी नभएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजन, विद्यालयका शिक्षक/विद्यार्थी र स्थानीयलाई खानेपानीको समस्या पर्न गएको गाजनेका समाजसेवी सीता भण्डारीले बताउनुभयो । सरकारले ‘मुहानदेखि मुखसम्म शुद्ध पिउनेपानी’ भनेर विभिन्न नारामा योजना ल्याए पनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा धेरै ठाउँमा नाम मात्रका योजना सञ्चालित छन् । यस्ता योजनामा समयमा नै सरोकारवालाले ध्यान दिनु आवश्यक रहेको र्सवसाधारणको भनाइ छ । रासस