एक गाग्रो पानी लिन तीन घन्टा

खोटाङ, २४ मङ्सिर । उत्तरी गाविस बडकादियालेस्थित बगैँचा गाउँमा खानेपानीको हाहाकार भएको छ । नजिकैका धारा तथा कुवा सुकेपछि वडा नम्बर-५ मा पर्ने बगैँचा गाउँका नौ घर दलितसहित १७ घरपरिवारमा विगत दर्ुइ वर्षेखि खानेपानीको समस्या भएको हो । गाउँको नजिकमा रहेका धारा तथा कुवा सुकेपछि तीन घन्टा धाएर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय रीता नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी लिनकै लागि एक जनाको बिहान जान्छ, यसले गर्दा विशेषगरी केटाकेटीको पढाइमा असर पुगेको छ ।”

नौ घर दलितसँगै चार घर श्रेष्ठ र चार घर कार्की परिवार बसोवास गर्ने उक्त गाउँमा हालसम्म कुनै योजना नपरेको स्थानीय सन्तोष सुयलले बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छेले त जसोतसो बोकेरै भए पनि खाइन्थ्यो, गाईवस्तुलाई समेत गाग्रोमा बोकेको पानी खुवाउनु पर्दा ज्यादै समस्या भएको छ ।” त्यस क्षेत्रमा एउटा मात्र कुवा भएकाले बिहान सबेरै नगए पानी नपाइने स्थानीयको भनाइ छ । आफूहरुको यत्तिका समस्या हुँदाहुँदै पनि कसैको ध्यान नपुगेको उनीहरुको गुनासो छ । रासस