कोगटेका महिला सहकारीमा आबद्ध

हेटौँडा, १८ चैत । मकवानपुर जिल्लाको कोगटे गाविसका सम्पूर्ण महिला स्थानीय महिला सहकारी संस्थामा आबद्ध भएका छन् । सो गाविसमा आज आयोजित घोषणा कार्यक्रममा गाविसका २६० घरधुरीका सबै महिलाले आफूहरू महिला सहकारीमा आबद्ध भएको घोषणा गरेका हुन् ।

जिल्लाका ४३ गाविसमध्ये कोगटे सम्पूर्ण महिला सहकारीमा आबद्ध हुने पहिलो गाविस भएको छ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय महासङ्घका उपाध्यक्ष अमृता सुब्बाले घोषणा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कोगटे गाविसमा एक हजार २४३ जनसङ्ख्या रहेको गाविस सचिव विष्णुप्रसाद खतिवडाले बताउनुभयो । कोगटे गाविस भवनको परिसरमा सञ्चालित सिर्जनशील महिला बचत सहकारी संस्थाले हाल रु ७२ लाख ९४ हजारको आर्थिक कारोबार सुरु गरिसकेको डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख भीम परियारले राससलाई बताउनुभयो ।

संस्थाले महिला कृषकलाई कृषि तथा पशुपालनमा रु २१ लाख, व्यापार व्यवसायमा रु २० लाख र सिँचाइ कुलो निर्माणमा रु आठ लाख ऋण लगानी गरेको संस्थाकी अध्यक्ष सीता घलानले बताउनुभयो । रासस