अस्थिर राजनीतिमा स्वदेशी/विदेशी कसैले पनि लगानी गर्दैनन् – महाथिर

‘जिम्मेवारीबिनाको स्वतन्त्रता काम छैन’

मलेसियाली पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई देशको अर्थतन्त्र १७ गुणा विस्तार गरेको जस दिइन्छ । उनले नेपालकै जस्तो राजनीतिक, आर्थिक संक्रमणमा रहेको मलेसियालाई सन् १९८१ देखि दुई दशकभन्दा बढी नेतृत्व दिए र उल्लेख्य आर्थिक विकासको मार्गमा डोर्‍याए । यस्तो सफलता सम्भव गराउने उनको अनुभव सुन्नु संसारमै एउटा लालसाको विषय हो । यस पटक त्यस्तो अवसर काठमाडौंमै मिल्यो । उनका भनाइ खासगरी नेपालका लागि निकै सान्दर्भिक पाइए । उनले भने, ‘राजनीतिक दल, समुदाय र जातजाति नमिली विकास सम्भव छैन ।’

महाथिर उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘इकोनोमिक कन्क्लेभ’ का मुख्य वक्ताका रूपमा आएका हुन् । उनले आइतबार केही सञ्चारकर्मीमाझ मलेसियाली विकास मोडेलका केही पक्षमाथि प्रकाश पारे ।

नेपाल उद्योग वाणिज्य महासंघद्धारा काठमाण्डौमा आयोजीत नेपाल विजनेश कनक्लेभ २०१४ का लागि मलेसियावाट आएका प्रमुख अतिथी पर्ूवप्रधानमन्त्री महाथिर मोहम्मदद्धारा कार्यक्रमलाई सम्वोधन गर्दै ।
नेपाल उद्योग वाणिज्य महासंघद्धारा काठमाण्डौमा आयोजीत नेपाल विजनेश कनक्लेभ २०१४ का लागि मलेसियावाट आएका प्रमुख अतिथी पर्ूवप्रधानमन्त्री महाथिर मोहम्मदद्धारा कार्यक्रमलाई सम्वोधन गर्दै ।

 

तपाईंले मलेसियाको अर्थतन्त्रलाई धेरै माथि उठाउनुभयो । विशेष गरी शिक्षा र पूर्वाधारमा निकै लगानी गर्नु भयो । नेपालजस्तो मुलुकको विकासका लागि तपाईको सुझाव के हुन सक्छ ।

राजनीतिक स्थिरता भए विकासका कार्यक्रम कार्यान्वयन गर्न सजिलो हुन्छ । जब तपाई विकासका कार्यक्रम कार्यान्वयन गर्न थाल्नुहुन्छ, निजी क्षेत्रको लगानी बढेर सरकारको राजस्व बढ्छ । सरकारसँग पैसा भए उसले शिक्षामा लगानी गर्न सक्छ । हामी औद्योगीकरण गर्न चाहन्थ्यौं । विद्यार्थीहरूलाई विश्वभर पढ्न पठायौं । औद्योगीकरणले सरकारसँग थप पैसा भयो र पूर्वाधारमा लगाउन सक्यौं ।

आलोचकले तपाईंलाई तानाशाह पनि भन्छन् नि ?

हो, मलाई तानाशाह भएको आरोप लाग्छ । प्रतिपक्ष छन् भने उनीहरूले तानाशाहको आरोप लगाउँछन् नै । म उनीहरूलाई सोध्न चाहन्छु, कति तानाशाहले राजीनामा दिएका छन् ? मैले राजीनामा दिएँ ।

मलाई लाग्यो कि २१/२२ वर्ष धेरै भयो । फेरि मैले अलोकप्रिय भएकाले राजीनामा दिएको पनि होइन । म लोकपि्रय थिएँ । अब उनीहरू नै तिमीले किन राजीनामा दियौ भन्न थालेका छन् ।

त्यसो भए तानाशाह नभई तपाईंले विकास गर्न सक्नुभएको हो ?

हामी विभाजित थियौं । त्यसैले हामीले जुट्ने निर्णय गर्‍यौं । त्यसपछि तीनवटै समुदायको सहयोग जुटायौं । हामीले दुई तिहाइ बहुमतले जित्यौं । त्यसपछि हामीले देशको विकास गर्ने निर्णय गर्‍यौं । तर प्रतिपक्षले आलोचना गरिरहे । मेरो विचारमा प्रतिपक्ष चाहिन्छ ।

यो ऐनाजस्तै हो । त्यसले तपाईंलाई सही काम गरिराख्न सहयोग पुग्छ ।

हामी बलिया थियौं, हामीले नीति बनाउन र कार्यान्वयन गर्न सक्यौं । हामी साना दलमा विभाजित भएर सरकार बनाउन नसक्ने भएका भए विकास हुँदैनथ्यो । त्यसले स्थिरता हुँदैन । अस्थिर राजनीतिमा स्वदेशी/विदेशी कसैले पनि लगानी गर्दैनन् । हामीले विदेशी लगानीमा निर्भर हुनुपर्छ ।

नेपाल पनि राजनीतिक संक्रमणमा छ । यहाँको राजनीतिक र आर्थिक व्यवस्थापन कसरी गर्न सकिएला ?

हामीकहाँ पनि सुरुमा त्यही समस्या थियो । हामी त्याग गर्नुपर्छ भन्ने कुरामा सहमत भयौं । हामीले प्रणालीको विकास गर्‍यौं । एक ठाउँमा आउने बाटो बनायौं । सबै मिलेर अर्थतन्त्रको केक ठूलो बनाउन सक्यौं भने बाँड्न पनि सक्छौं । सानो कतिले बाँड्ने ? अर्को मैले धेरै देश देखेको छु, विशेषगरी नयाँ प्रजातान्त्रिक मुलुकहरू । जहाँका मानिस प्रजातन्त्रप्रति धेरै नै आकषिर्त छन् । त्यो स्वतन्त्रता पाइन्छ भनेर भइरहेको जस्तो लाग्छ ।

तर जिम्मेवारीबोधबिनाको स्वतन्त्रताले प्रजातन्त्रलाई राम्रो गर्दैन । प्रजातन्त्रको मुख्य कुरा हार्न पनि सिक्नु हो । तर ती देशहरूमा के देखिँदैछ भने आफूले जिते प्रजातन्त्र रहन्छ, अर्कोले जिते हुँदैन । सबै आफूले जितेमात्रै प्रजातन्त्र मन पराउँछन् । हार्नेलाई अर्कोले जालसाजी गरेको जस्तो लाग्छ । जस्तो कि इजिप्टजस्ता देशहरूमा देखिन्छ । त्यहाँ उनीहरूले तानाशाह हटाए । प्रजातन्त्र आयो । निर्वाचन पनि भयो । एक पार्टीले जित्यो अर्को मान्न तयार भएन । तर पश्चिमा प्रजातन्त्र हेर्नुस् । त्यहाँ एक पार्टीले जित्छ अर्कोले हार्छ । हार्ने अर्को निर्वाचनसम्म कुर्छ ।

सन् १९९७ को आर्थिक मन्दीका बेला तपाईले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) जस्ता निकायको सल्लाह नमानी आफैं सुधार गर्नुभयो र सफल पनि हुनुभयो । कसरी ?

मलाई लाग्छ, कुनै प्रस्ताव कतैबाट आउँछ भने त्यो उसको हितका लागि आउँछ, हाम्रा लागि होइन । जब मैले आईएमएफ र विश्व बैंकको प्रस्ताव हेरें, मलाईं लाग्यो त्यसले हामीलाई टाट पल्टाउन सक्छ । त्यसैले मैले हामी अरू उपाय अपनाउँछांै भनेर हुँदैन भनिदिएँ । उनीहरूले त्यसको आलोचना गरे । तिमीहरू टाट पल्टिन सक्छौं भनें । तर हामीले व्यवस्थापन गर्‍यौं । त्यो सजिलो थिएन । सारा विश्वको धारणाभन्दा फरक जानु थियो । हामीलाई विश्वास थियो कि हाम्रो देशको व्यवस्थापन हामी उनीहरूभन्दा राम्रोसँग गर्न सक्छौं । सफल हुन सक्यौं । अहिले उनीहरू तिमीहरूको जसरी पनि व्यवस्थापन गर्न सकिन्छ भनेर भन्न थालेका छन् ।

नेपाल मलेसियामा धेरै श्रमशक्ति पठाउने मुलुकमध्ये एक हो । त्यहाँको एकदमै सम्मानित व्यक्तिको तहबाट ती कामदारको काम र सामाजिक सुरक्षाका बारेमा केही गर्न सकिने ठाउँ छ कि ?

हामीकहाँ आप्रवासी मात्रै होइन, मलेसियाली कामदारको पनि कामको सुरक्षा (जब सेक्युरिटी) छैन । जब तपाईं आप्रवासी कामदार हुनुहुन्छ, त्यहाँका सर्त मान्न तयार हुनुपर्छ । हामी अर्को देशमा लगानी गर्न गयौं भने त्यहाँको अवस्था फरक हुन सक्छ, त्यसमा भिज्न सक्नुपर्छ । यस्तै तपाई अर्को देशमा काम गर्न जाँदै हुनुहुन्छ भने त्यहाँको प्रणाली अपनाउनुपर्छ । मान्न नसके स्वदेश र्फकनुपर्छ । किनभने त्यहाँ प्रदर्शन त गर्न सकिँदैन नि ।

कान्तिपुर दैनिक बाट