मात्र ‘शो पिस’ हुन चाहन्नँ

मिस नेपाल २०११ को ताज जितेपछि चर्चामा आएकी हुन्, मलिना जोशी। अघिल्लो वर्ष रिलिज फिल्म ‘कलिउड’को एउटा गीतमा नृत्य गरेर फिल्म मोह दर्शाएकी थिइन्। भर्खरै रिलिज फिल्म ‘ऋतु’मार्फत उनले हिरोइनका रूपमा नयाँ परिचय बनाएकी छिन्।

मलिनासँग सजना बरालको अन्तरंग कुराकानीः

‘ऋतु’ फिल्म खासै चलेन क्यारे! पहिलो ‘गाँसमै ढुंगा’ भनेजस्तो भयो होला तपाईंलाई त?
हैन, कहाँ त्यस्तो हुनु? न फिल्म फ्लप भयो न त मैले ढुंगा खानु पर्यों। हेर्नेहरूले मेरो अभिनय राम्रो मानेका छन्। फिल्मबारे टे्रनिङ, अनुभव, शिक्षा केही नभएको मान्छेले त्यतिको अभिनय गर्नु भनेको राम्रो संकेत हो रे! अर्को कुरा, ‘ऋतु’ नचलेको होइन। अस्ट्रेलियामा रिलिज हुँदा नै फिल्मले राम्रो व्यापार गरेको थियो। त्यहाँका तीन–चार वटै ‘शोज’ हाउसफुल भा’थे। नेपालमा चाहिँ ‘हाउसफुल’को ‘ह’ पनि भएन…  ‘ऋतु’सँगै तीनटा बलिउड र एउटा हलिउड मुभी रिलिज भएका थिए। त्यसले गर्दा पनि हाम्रो फिल्मलाई प्रभाव परेको हो। जतिसुकै राम्रो, स्तरीय फिल्म बनाए पनि हिन्दीको अगाडि हामी (नेपाली फिल्म) सूर्यको सामु दियो भनेजस्तै हुन्छौँ।

सुटिङका बेला खुब लजाउनुभएको थियो रे?

पहिलो पल्ट एक्टिङ गर्दा नर्भस भइँदो रहेछ। सुरुका एक/दुई दिन काम गर्नै लाज लाग्यो। फिल्मकर्मीले प्रयोग गर्ने भाषा, टेक्निकल टर्महरू बुझ्दिनँ थिएँ। दुई/चार दिनपछि कुरा पनि बुझ्न थालेँ, लाज पनि हरायो। मजाले एक्टिङ गर्न थालेँ। फिल्ममा डुबिसकेपछि त झन् अर्कै ‘फिल’ हुँदो रहेछ। मनै शान्त भएको जस्तो, आनन्द लागेजस्तो, पिर–व्यथा सबै बिर्सेजस्तो, एकदमै ‘रिलिफ’ महसुस भयो मलाई।

‘मिस नेपाल–२०११’ को उपाधिले नै तपाईंलाई ‘फेमस’ बनाइसकेको थियो। फिल्म खेलिराख्नुपर्थ्यो र?

एक चोटि ‘मिस नेपाल’ भयो भन्दैमा जुनीभरि हात बाँधेर बस्नु त भएन। केही न केही गर्नैपर्छ। मैले फिल्म खेलेँ। तर, मिस नेपाल भइसके पछि चाहिँ अलि ‘कन्सस’ भएर काम गर्नुपर्ने रहेछ। आफ्नो ‘टाइटल’ को ख्याल राख्नुपर्ने, कामलाई पनि न्याय गर्नुपर्ने बाध्यता हुन्छ। अरूलाई फिल्म खेल्न जति सजिलो छ, मिस नेपाल भइसकेकालाई त्यति नै अप्ठ्यारो छ।

Malinna joshi
Malinna joshi

 

सजिलो होला नि झन्? तपाईंहरूको त नामै काफी हुन्छ।

फिल्म पाउन गाह्रो हुन्न। तर, स्त्रि्कप्ट छानेर राम्रो ‘प्रोडक्ट’ दिन चाहिँ गाह्रो हुन्छ। केही गरी फिल्म नराम्रो भइदियो भने ‘मिस नेपाल भएर पनि यस्तो काम गर्ने’ भन्छन् मान्छेले। फिल्म खेल्दा मात्रै होइन, जे काम गर्दा पनि एकदम मेहनत गरेर, होस पुर्याोएर गर्नुपर्छ। अरूलाई भए ‘एउटा नभए अर्कोमा राम्रो गरौँला’ भन्ने ‘अप्सन’ हुन्छ।

फिल्मी करिअरलाई नै निरन्तरता दिने हो अब?

हेरौँ के हुन्छ? फिल्म खेल्न छोड्दिनँ तर यसमै समर्पित हुन्छु भन्ने चाहिँ लागेको छैन। राम्रो रोलको अफर आयो भने गर्न पनि सक्छु। तर, साना–तिना, ‘ओभर एक्स्पोज’ गर्नुपर्ने रोलका लागि काम गर्दिनँ। फिल्ममा ‘शो पिस’ हुनुभन्दा पनि मेरो प्रस्तुति झल्किने खालको भूमिका चाहन्छु म।

फिल्ममा डेब्यू त तपाईंले शो पिस नै मानिने आइटम नम्बरबाट गर्नुभएको थियो नि?

‘कलिउड’ फिल्मको गीत ‘नशा हो कलिउडको नशा’ को कुरा गर्नुभएको? खासमा त्यो आइटम नम्बरै होइन। ज्याज खालको छ सुन्दा नै। कलिउड फिल्मको ओएसटी (ओरिजिनल साउन्ड ट्र्याक) हो। तर, सबैले त्यसलाई ‘आइटम–सङ’ भनेर गलत व्याख्या गरे। बरु, त्यही फिल्ममा प्रियंका (कार्की) ले नाचेकोे ‘काली काली’ गीतलाई चाहिँ आइटम भन्न मिल्छ।

तपाईले फिल्म छान्ने आधार के हो?

मैले अभिनय गर्ने पात्रको प्रकृति कस्तो हो, त्यहीअनुसार फिल्म खेल्ने/नखेल्ने निर्धारण गर्छु। मेरा पनि केही ‘टर्म्स एन्ड कन्डिसन्स’ छन्। तीभन्दा बाहिर गएर निर्णय गर्दिनँ। जस्तै अघि पनि भनेँ, चाहिनेभन्दा बढी देखाउनुपर्ने फिल्म म खेल्दै खेल्दिनँ।

मिस नेपाल वा मिस वर्ल्डमा जाँदा बिकिनीमै फोटोसुट गर्नुभा’थ्यो। फेरि ‘बडी एक्स्पोज गर्दिनँ’ भन्नुहुन्छ?

त्यो त कम्पिटिसनका लागि थियो। त्यसको निश्चित उद्देश्य थियो। त्यहाँ फोटोसुट गर्दा मलाई अभद्र देखिएन। ‘सोबर’ देखिएँ। तर, फिल्ममा चाहिँ किन हो कुन्नि, मलाई अलि ‘अड’ लाग्छ। मलाई अड लाग्नु भनेको क्यामरामा अड देखिनु हो। त्यसले समग्र फिल्मकै छवि बिगार्छ। त्यसैले आफूलाई नपच्ने काम नगर्नु नै बेस भन्ने लाग्छ मलाई।

आजकल निर्माता–निर्देशकले अलि खुल्ने खालकी हिरोइन चाहन्छन् रे। खुल्दिनँ भन्न थाल्नुभयो भने त फिल्मै नपाइएला नि फेरि?

मिस नेपालसँग त्यस्तो ‘चिप’ कुरा गर्ने हिम्मत पनि हुनुपर्योँ नि कसैको! हामीलाई त ‘टाइटल’ले नै बल दिएको छ। हिडेन टे्रजरसँग आबद्ध भइसकेपछि यो मामिलामा चाहिँ एकदमै सुरक्षित भइन्छ। सबै निर्माता–निर्देशक त्यस्ता हुँदैनन् पनि। कस्तासँग काम गर्ने भन्ने आफ्नै हातमा हुन्छ। फेरि, अहिले त खुल्नेभन्दा पनि अभिनय कस्तो गर्छ भन्नेमा ‘जजमेन्ट’ हुन थालेको छ। लुगामा अड्किनु नपर्ला हामीले।

कहिलेदेखिको सपना थियो, मिस नेपालमा भिड्ने?

स्कुल पढ्दादेखिकै हो नि। विज्ञापनमा खेल्ने, फेशन शो गर्ने, विभिन्न पेजेन्टहरूमा भाग लिने सोख थियो। तर, मेरो परिवार साह्रै ‘कन्जरभेटिभ’! रंगीचंगी दुनियाँमा लाग्नु हुँदैन भन्नुहुन्थ्यो। त्यसैले स्कुल, कलेज पढुञ्जेल कतै जाने आँट गरिनँ मैले। मास्टर्स सकाएपछि चाहिँ ‘मम–ड्याडलाई जति खुसी पार्नुपर्ने हो पारिसकेँ, अब चाहिँ मेरो पालो’ भन्ने सोचेर मिस नेपालको फर्म भरेकी थिएँ। पत्रिकामा फोटो छापिएपछि उहाँहरूलाई ‘कलेजले कर गरेकाले भाग लिनुपर्योच’ भनेर ढाँटेँ।

सुन्दरी प्रतियोगिताहरू ‘फेयर’ हुँदैनन्। तिनमा राजनीति चल्छ भन्छन्। कत्तिको सत्य हो?

मैले त्यस्तो अनुभव गरिनँ। मेरो पालामा ‘फलानो दुई जनामध्ये एउटा कन्टेस्टेन्टले पक्का जित्छ’ भनेर हल्ला फैलिएको थियो। तर, जित्ने बेला मेरो नाउँ घन्कियो। अब मैले राजनीति गरेँ होला भन्नुछैन। किनभने, मेरो त बाउआमालाईसमेत म फाइनलमा भिड्दै छु भनेर थाहा थिएन। सोर्स–फोर्स लगाएँ भनौँ भने मैले जजहरूमा मनीषा कोइरालाबाहेक कसैलाई चिनेकी थिइनँ। मनीषालाई चिनेर के काम? उहाँलाई त सबैले चिन्छन्। त्यसैले म चाहिँ ढुक्कसँग भन्छु कि मैले त्यसरी जितेको होइन। अरूको कुरा म जान्दिनँ। सबै प्रतियोगितामा धाँधली हुन्छ भन्ने पनि लाग्दैन।

केही समयअघि ‘मिस एसिया प्यासिफिक’ मा जाँदा तपाईंले मिस नेपाल आयोजक द हिडेन ट्रेजरसँग छलफल नगरी हिँड्नुभएछ। आयोजक रिसाएर बबन्डर मच्चाएको थियो रे?

मिस नेपाल भएको एक वर्षसम्म तपाईं हिडेन टे्रजरसँग सम्बन्धित हुनुहुन्छ। तर, नयाँ मिस नेपाललाई ‘क्राउन ह्यान्डओभर’ गरिसकेपछि आयोजकसँगको हाम्रो कन्ट्र्याक्ट सकिन्छ। मेरो मामिलामा त्यस्तै भा’थ्यो। मैले सृष्टि (श्रेष्ठ) लाई ताज पहिर्याएइसकेकी थिएँ। त्यसैले मलाई ‘अब मैले जेसुकै गरे पनि हिडेन ट्रेजरसँग अनुमति लिइराख्नुपर्छ’ जस्तो लागेन। अर्को कुरा, त्यतिबेला इशानीको ग्रुप बाहिर जान बाँकी थियो। हिडेन टे्रजर त्यतैतिर व्यस्त भएकाले मैले आफ्नो काम आफैँ गर्ने निर्णय गरेकी थिएँ। समस्या चाहिँ कहाँनिर भयो भने मैले इन्ट्रोडक्सन भिडियोमा ‘म २०११ को मिस नेपाल पनि हुँ’ भन्दै क्राउन देखाएकी थिएँ। हिडेन टे्रजरले त्यो क्राउन भएको सिन हटाऊ भन्यो। मैले हतार–पतारमा सिन काट्न बिर्सिएँ। त्यही कुरामा उहाँहरू अलि–अलि रिसाउनुभएको हो। तर, बाहिर भनिएजति बबन्डर चाहिँ हामीबीच मच्चिएको थिएन। अलि बढाइँचढाइँ गरेर हल्ला फैलियो।

‘मिस नेपाल’ तपाईंको परिचय हो। त्यो परिचय (क्राउन) ‘मेरो हो भनेर देखाउन नपाउनु’ अथवा हिडेन टे्रजरले ‘क्राउन लगाएको सिन हटाऊ’ भन्नु कत्तिको न्यायसंगत हो जस्तो लाग्छ?

मैले पनि ‘मेरो आइडेन्टिटी, मैले पाएको चिज देखाउँदा के होला र?’ भन्ठानेकी थिएँ। तर, मिस नेपालको क्राउन हिडेन टे्रजरको ब्रान्ड भएकाले मिस वर्ल्डबाहेक अरू ब्युटी पेजेन्टमा प्रयोग गर्न पाइँदैन भन्नुभयो उहाँहरूले। खासै फरक त नपर्नुपर्ने हो। तर, उहाँहरूले ‘अलि मिल्दैन’ भन्नुभयो। होला त नि। अहिले त मैले त्यो इन्ट्रोडक्सन भिडियो पनि डिलिट गर्दिसकेँ।

अझै पनि हिडेन टे्रजरसँग मटमुटाव छ कि क्या हो?

छैन र कहिल्यै मनमुटाव भएन पनि। अस्ति ‘ऋतु’को प्रमोसनमा गोपाल (कक्षपति) सर र सबै मिस नेपालले साथ दिनुभएको थियो मलाई। हिडेन टे्रजरसँग मनमुटाव हुने चान्सै छैन मेरो। म उसैले जन्माएको सन्तान न हुँ।

केमा व्यस्त हुनुहुन्छ?

टे्रन्डसेटर्स फेशन शोमा व्यस्त थिएँ अस्तिसम्म। अब, फेरि त्यसका लागि कुरा भएको छ। तर, फिक्स्ड भइसकेको छैन। फिल्म पनि हातमा लिएको छैन। अहिले प्लानिङमै व्यस्त छु।

फुर्सद रहेछ। यही बेला घरजम जोडे हुन्छ नि?

घरबाट प्रेसर आइरा’छ। छोरीको बिहे गर्दिन पाए ढुक्कै हुन्थ्यो भन्ने लाग्या होला ममी–ड्याडीलाई। तर, अहिले नै बिहे गर्ने सोच छैन मेरो। मार्केटिङको विद्यार्थी हुँ। पढाइलाई काममा ‘क्यास’ गरौँ भन्ने लागरा’छ। केही व्यवसाय थालेर जीवनभरिलाई आत्मनिर्भर हुने बाटो समाएपछि मात्रै घरगृहस्थीमा लाग्नुपर्ला। शुक्रबार साप्ताहिक