डलरको विनिमय दर: कारण र प्रभाब – राजु नेपाल

काठमाडौँ, १० भदौ । गएको साता नेपालमा दुई चिजको भाउ बढेको समाचारले बजार तात्यो – प्याज र अमेरिकी डलर । प्याजको भाउले तुरुन्तै सबैको ध्यान तान्यो भने डलरको भाउ बढ्दा तत्काल प्रभाव नदेखिने हुँदा सामान्य खबरजस्तो बन्यो । तर, प्याजको भाउ नितान्त मौसमी विषय हो र आपूर्ति अलिकति पनि सहज हुनेबित्तिकै आफैँ तल झर्छ र त्यसको प्रभाव पनि क्षणिक हुन्छ । डलरको भाउ वृद्धिको प्रतिकूल प्रभाव भने लामो समयसम्म रहन्छ र देशको समग्र अर्थतन्त्रमा पर्नेछ । अर्थात्, यसको प्रभाव सबै नेपालीले सहनु पर्नेछ ।

dollar-vs-ruppes

नेपाली र भारतीय रुपैयाँको भाउ नेपाल राष्ट्र बैंकले तोक्छ भने अरु मुद्राको मूल्य वाणिज्य बैंकहरु आफैँले तोक्न सक्छन् । साथै, नेपाली र भारतीयबाहेक अरू सबै मुद्राका विनिमय दर अमेरिकी डलरको विनिमय दरमा भर पर्ने हुन्छ । सामान्यतः अमेरिकी डलरको भाउ जता जान्छ अरु मुद्राको भाउ पनि त्यही त्यतै जान्छ ।

नेपालको राजनीतिमात्रै हैन विनिमय प्रणाली पनि भारत आश्रित भएकाले भारतीय रुपैयाको अमेरिकी डलर सँगको विनिमय दर जता जता जान्छ नेपालमा सबै मुद्राको विनिमय दर त्यतै जान्छ । नेपाली मुद्राको अमेरिकी डलरलगायतका मुद्रासँगको विनिमय दर खुल्ला बजार प्रणाली अन्तर्गत चल्छ भन्नु सरासर झुठ बोल्नु नै हो ।

किन बढ्यो भाउ ?
केही महिना अघिसम्म करिब ८५ रुपैयाँ प्रति अमेरिकी डलर रहेको भाउ अहिले एक्कासि किन १०४ पुग्यो त ? उत्तर एकदम सजिलो र यो क्षेत्रमा पटक्कै ज्ञान नभएको मान्छेले पनि दिन सक्छ, त्यो हो भारतमा भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भयो । करिब ३ महिनाअघि झन्डै ५३ भारतीय रुपैयाँ प्रति अमेरिकी डलरको हाराहारीमा रहेको विनिमय दर अहिले आएर ६५ भारतीय रुपैयाँ पुगेको छ । यस अर्थमा पनि हामीले नेपाली रुपैयाँ र अमेरिकी डलरको भाउ बढ्नुको पछाडिका कारण खोज्दा भारतीय मुद्राकै कारण खोज्नुपर्ने हुन्छ । तिनमा

प्रमुख कारण निम्न छन् ः
खुल्ला विनिमय प्रणालीमा रहेका कुनैपनि दुई मुद्राको लामो समयको विनिमयदर धेरै हदसम्म ती देशको मुद्राको ब्याज दरको अन्तरले निर्धारण गर्छ । यसरी हेर्दा भारतमा भारतीय रुपैयाँको एक वर्षे निक्षेपको ब्याजदर करिब ९ प्रतिशतको हाराहारीमा हुनु र अमेरिकी डलरको सोही दर संसारभर करिब १ प्रतिशत हुनुले हरेक वर्ष भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा करिब ८ प्रतिशतले अवमूल्यन हुनुपर्ने हो । करिब ५ वर्ष अगाडि ४३ रुपैयाँको हाराहारीमा रहेको यो विनिमय दर अहिले ६५ पुग्नुको पछाडि एउटा प्रमुख र भरपर्दो कारण यही हो । यसको पुष्टि भारतको मुद्राबजारका विश्लेषकले ठूलै स्वरमा गर्न थालेका छन् । यसै आधारमा तिनले आगामी तीन महिनामा भारतीय रुपैयाँ एक अमेरीकी डलर बराबर ७० पुग्ने भविष्यवाणीसमेत गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदाय खासगरी अमेरिकाजस्ता ठूला अर्थतन्त्र अरुको देशको मुद्राको ब्याजदरमा धेरै आँखा गाड्दैनन तर विनिमय दरमा भने उनीहरुको गिद्धेदृष्टि नै हुन्छ । किनभने त्यस देशको मुद्राको विनिमय दरले आफ्नो देशको व्यापार त्यस देशमा बढाउन मद्दत पुग्छ । भारतले आफ्नो मुद्राको विनिमय दरलाई उपभोक्ताको हितको नाममा कडाइ गरेर राखुन्जेल अन्तर्राष्ट्रिय समुदाय खुसी थियो तर खुकुलो पार्न थाल्नेबित्तिकै तिनको टाउको दुखाइ सुरु भएको छ । किनभने अब भारतमा विदेशी सामान महँगा हुनेछन् । भारतले त्यसको फाइदा लिन पनि यो पटक अलि बढी नै खुकुलो गरेको अनुमान गरिएको छ । यसबाट हालको भारत सरकारले आगामी चुनावका लागि निर्यातकर्ता तथा आयात प्रतिस्थापनमा जुटेका हजारौं व्यापारीको साथ पाउने अपेक्षा राखेको हुनसक्छ ।

त्यस्तै, अर्को कारण सन् २०१४ मा हुने भारतीय संसद्को चुनाव र यसका लागि हुने चलखेल पनि हुनसक्छ । एकातिर विपक्षीहरु विनिमय दरमा ल्याइएको यस परिवर्तनबाट अर्थतन्त्र धराशायी हुने तर्क गर्दै सरकारको विरोध गर्न थालेका छन् भने अर्कोतर्पm उनीहरु सरकारले चुनावका लागि ठूलो परिमाणमा खर्च जुटाउने काम गरेको आरोप पनि लगाइरहेका छन् । सरकारी पक्षभने खुला अर्थतन्त्रमा विनिमय दरलाई सरकारले केही नगरेको र गर्नैपर्नेे स्थिति पनि नभएको तर्क दिँदैछन् ।

जुनसुकै कारणले मुद्रा अवमूल्यन भइरहेको भएपनि भारत सरकार तत्काल वा अझ भनौ चुनाब अगाडि विनिमय बजारमा ठूलै हस्तक्षेप गर्ने मनःस्थितिमा देखिँदैन । यस्को पुष्टि गत सातामात्रै भारतीय अर्थ मन्त्रीले गरेका छन् । साथै भारतीय केन्द्रीय बैंक पनि ७० रुपैयाँको हाराहारीमा यो दर नपुगी केही नगर्ने अवस्थामा रहेको विभिन्न संचार माध्यममा आएको छ ।

प्रभाव

नेपालमा यसले दूरगामी र प्रतिकूल असर गर्ने पक्का छ । विदेशबाट रेमिटान्स आउने परिवारलाई क्षणिक फाइदा हुनेबाहेक समाजका सबै पक्ष यसको चपेटामा पर्नेछन् । दैनिक उपभोगका भाउबेसाहाले आकाश छुने छ । पेट्रोलियम र औद्योगिक कच्चा पदार्थको भाउमा पर्ने बोझ धान्न सामान्य नेपालीलाई सहज हुने छैन । कुनै दिन एक लिटर पेट्रोलको भाउ १ सय ७५ र एक सिलिन्डर ग्यासको भाउ तीन हजार रुपैयाँ पुग्यो भने त्यसको समाधान सडकमा टायर बालेर पक्कै हुनेछैन ।

माथि भनिए भैmँ संसारका अरु देशका मुद्रको विनिमय दर पनि अमेरिकी डलरसँगै घटबढ हुने हुँदा दैनिक जनजीवनमा धेरै प्रयोग हुने चिनियाँ सामानका भाउले पनि आकाश छुने पक्का छ । एकवर्ष अघिसम्म १३ रुपैयाँको हाराहारीमा रहेको चिनियाँ पैसाको नेपाली रुपैयाँसँगको विनिमय दर अहिले झन्डै १७ रुपैयाँ पुग्नुको पछाडि यो एकमात्र कारण हो ।

हल्ला
हाम्रो मुलुकलाई हल्लैहल्लाको देश भनिन्छ । तरल राजनीतिक परिस्थितिमा मानिसहरू व्यक्तिगत वा सीमित समूहको स्वार्थमा जे बोल्न पनि नहिचकिचाउने बानी हामीलाई लागिसकेको छ । एकथरी मानिस नेपाली रुपैयाँ र भारतीय रुपैयाँको स्थिर विनिमय प्रणालीमा तुरुन्त परिवर्तन हुने वा ल्याउनुपर्ने तर्क अघि सार्न थालेका छन् । त्यस्तो तर्क गर्नेले नेपाल, हाम्रो अर्थतन्त्र, राजनीतिक स्थिति र विनिमय दर प्रणालीमा परिवर्तन गर्दा आउनसक्ने भयावह स्थितिको आकलन गर्न नसकेको स्पष्ट हुन्छ । त्यस्तै नेपाली रुपैयाँको स्थिर विनिमय प्रणालीलाई भारतीय रुपैयाँबाट चिनिया मुद्रामा सार्नुपर्ने जस्ता सतही विचार पनि बजारमा आउन थालेका छन् ।

लामो समयदेखिको अस्थिर सरकार, भारतसँगको कहाली लाग्दो व्यापार घाटा, बैकिङ प्रणालीभन्दा बाहिर नेपाली रुपैयाँ र भारतीय रुपैयाँको अनौपचारिक विनिमय दर ( बैंकमा १०० भारतीय रुपैयाँको १६० नेपाली रुपैयाँ भएपनि बाहिर सजिलै १७० देखि १७५ सम्ममा कारोबार हुन्छ ), भारतसँगको खुला र व्यापारकालागि अनियन्त्रित सीमा आदि कारणले गर्दा कुनै अवस्थामा पनि विनिमय दर प्रणाली परिवर्तन भइहाल्यो भने पनि त्यो एक भारतीय रुपैयाँ बराबर दुई नेपाली रुपैयाँभन्दा माथि जाने र त्यस्को फलस्वरुप डलरको भाउ आजको स्थितिमा १३० भन्दा बढी हुने हुनसक्छ । यो परिस्थिति नेपालको लागि अकल्पनीय हुन्छ र यसले नेपालको आर्थिक चित्र कसरी बिगार्छ भने त्यसलाई सुधार्नमात्रै पनि धेरै वर्ष र मिहेनत लाग्छ । साथै क्रय शक्तिका आधारमा हामी नेपाली ५० वर्षपछि धकेलिन पुग्छौं

अबको बाटो
माथि भनिए झँै स्थिर सरकार नबनेसम्म यस विषयमा सरकारी तबरबाट गर्न सकिने काम अत्यन्तै कम छ तर नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक तथा अन्य नीतिमार्फत विदेशी मुद्राको प्रयोग सम्बन्धमा विभिन्न उपाय अपनाएर यसबाट पर्ने असर कम गर्न भने पक्कै सक्छ । सरकारले पनि नेपालमा प्रयोग नहुने वस्तुको आयातमा कडाइ गर्ने, तरकारी, फलपूmल, मासुजस्ता देशभित्रै उत्पादन गर्न सकिने वस्तुको उत्पादन प्रोत्साहित गरी आयात घटाउनेजस्ता काममात्र गर्न सके पनि विदेशी मुद्राको खपत कम हुनेछ । विदेशी मुद्राको खपतै कम भएपछि त्सबाट पर्न जाने असर कम गर्न मद्दत मिल्छ ।

त्यस्तै बाणिज्य बैंकहरुले प्रतीत पत्र खोल्ने बेलामै अनिवार्य रुपमा विनिमय दर निर्धारण ‘फरवार्ड करार’ गर्ने परिपाटी सुरु गर्नु जरुरी छ । यसले जोखिम घटाउन नसके पनि त्यसको परिमाण घटाउन मद्दत गर्छ ।

अब विनिमय दर कता जाला ?

अहिले जहाँ पुग्यो त्यो नै बढी भइसकेको छ । नेपालले मात्रै हैन भारत सरकारले पनि अब बढ्ने भाउ थेग्न सक्ने स्थिति छैन । यो दर भारु ६५ बाट माथि ७० पुग्दासम्म भारत सरकार चुप लागेर बसेपनि त्यसभन्दा माथि जान भने पक्कै दिनेछैन । तर केही सीमित समूहद्वारा नाफाका लागि यसरी विनिमय दर माथि लगेको स्थितिमा भने केही दिन वा सातामै यो ५५ र ६० को बीचमा स्थिर हुनेछ । यसको पुष्टि भारतका केही प्रतिष्ठित बैकर तथा मुद्रा विश्लेषकहरूबाट लगातार भइरहेको नकारात्मक प्रचारले पनि गरेको छ । यो दर चाँडैनै ७० देखि ७५ को बीचमा पुग्ने प्रचारवाजी क्षणिक स्वार्थमा फटाफट नाफाका लागि बिनाआधार गरिएको टिप्पणी हो भनी सहजै ठम्याउन सकिन्छ । अर्थात्, एक अमेरिकी डलर बराबर भारतीय रुपैयाँ करिब ६० मा केही समयका लागि स्थिर होला । नेपालमा पनि डलरको विनिमय दर करिब ९० देखि ९५ रुपियाँका बीचमा रहने देखिन्छ ।

नागरिक दैनिक बाट