भारत सरकारद्वारा परोपकारी संस्थालाई एम्बुलेन्स तथा बस प्रदान

काठमाडौँ, ३१ साउन । भारतको स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारले नेपालका विभिन्न २० जिल्लालाई एम्बुलेन्स र नाफा कमाउने उद्देश्य नभएका परोपकारी संस्थालाई चारवटा बस उपहारस्वरुप प्रदान गरेको छ । यहाँस्थित भारतीय राजूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले सम्बन्धित जिल्ला विकास समिति र परोपकारी संस्थाका प्रतिनिधिलाई एम्बुलेन्स र बसको साँचो हस्तान्तरण गर्नुभयो ।

केही एम्बुलेन्स र एउटा बस वीरगन्जस्थित भारतीय महावाणिज्यदूतले वीरगन्जबाट नै हस्तान्तरण गर्ने उहाँले बताउनुभयो ।

त्यसअघि स्वतन्त्रता दिवसको उपलक्ष्यमा राष्ट्रपति प्रणव मुखर्जीले देशवासीका नाममा जारी गर्नुभएको शुभकामना सन्देश राजदूत जयन्त प्रसादले वाचन गर्नुभएको थियो ।

भारत सरकारले नेपालका ७० जिल्लामा कार्यरत विभिन्न संस्थालाई ४०२ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ भने २४ जिल्लाका शैक्षिक तथा परोपकारी संस्थालाई ७८ वटा बस पनि उपहारस्वरुप प्रदान गरेको छ । समारोहमा यहाँ बसोबास गर्दै आएका भारतीय समुदायको उपस्थिति थियो । रासस