महाकाली नदीको बीच भागमा थुनिएका २३ जना मजदुरको सकुशल उद्धार

कञ्चनपुर, ३ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका पिपरैया नजिक महाकाली नदीको बीच भागमा थुनिएका २३ जना मजदुरको सकुशल उद्धार गरिएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट ट्रक र ट्रिपरसहित हिजो राति आठ बजे बालुवा र ढुङ्गा ल्याउन गएका मजदुरहरु पिपरैया नजिकैको महाकाली नदीको बीच भङ्गालोमा नदीमा आएको बाढीका कारण थुनिएका थिए ।

नदीको बीच भागमा मजदुरहरु फसेको थाहा पाउने बित्तिकै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले रातभर उद्धारको प्रयास थाले पनि नदीमा पानीको बहाव उच्च भएकाले उद्धार गर्न सकेका थिएनन् । क्षेत्रीय सदरमुकाम दिपायलबाट हेलिकोप्टर मगाएर फसेका मजदुरहरुको उद्धार गर्ने पहल गरिए पनि खराब मौसमका कारण हेलिकोप्टर आउन नसकेपछि स्थानीय बासिन्दा, प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरुले ट्युबको मद्दतले २३ जना मजदुरको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक बिर्खबहादुर रावलले बताउनुभयो ।

ट्युबको मद्दतले बिहान ८ बजेदेखि थालिएको उद्धारको कार्य १० बजेपछि मात्र सकिएको उहाँले भन्नुभयो । नदीको बीच भागमा रातभर झरिमा भिजेका मजदुरहरुको १६ घन्टापछि उद्धार गरिएको हो ।  ढुङ्गा र बालुवा ढुवानीका लागि लगिएका तीनवटा ट्रिपर, दुई ट्रक र एक जेसिभी भने नदीको बीच भागमै अलपत्र अवस्थामा रहेका छन् ।

पहाडी क्षेत्रमा निरन्तर रुपमा भइरहेको वर्षाका कारण नदीमा पानीको बहाव उच्च बन्दै गएकाले ढुवानीका साधन निकाल्न सकिएको छैन प्रहरी नायव उपरीक्षक रावलले रासससँग भन्नुभयो । हाल महाकाली नदीको बहाव एक लाख ६२ हजार क्यूसेक रहेको छ । रासस