मन्दिरको फोहर व्यवस्थापनमा छुट्टै नीति लागू

काठमाडौँ, ३ जेठ । ऐतिहासिक मठ मन्दिरमा भक्तजनले चढाएका फूलप्रसाद  तथा  वरपरका फोहर व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयले छुट्टै नीति लागू गरेको छ । मन्दिरमा श्रद्धाका साथ अर्पण गरी उपयोगमा नआएका फूल प्रसादलाई कम्पोष्ट मल बनाउने  र मन्दिर परिसरमा अहोरात्र सफाइ गरिने छ ।

यसअर्न्तर्गत मन्त्रालयले पहिलो चरणमा बुढानीलकण्ठ मन्दिरमा फोहर व्यवस्थापनको कार्य सुरु गरेको छ । मन्दिरमा जम्मा भएका फोहरलाई कम्पोष्ट मल बनाउन सुरु भएको मन्त्रालयका सचिव किशोर थापाले जानकारी दिनुभयो । यसपछि  मनकामना मन्दिरमा यो काम सुरु गरिने सचिव थापाले जानकारी दिनुभयो । सफा सहर कार्यक्रमअर्न्तर्गत मन्दिर क्षेत्रका फोहर व्यवस्थापनमा नयाँ नीति लिइएको हो ।

गत वर्षजनकपुरबाट सुरु गरिएको सफा सहर कार्यक्रम सबै नगरपालिकामा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । नगरपालिकाबाट निस्कने फोहरलाई उचित व्यवस्थापन गरी सहरी सौर्न्दर्य वृद्धि गर्ने कार्यक्रमको लक्ष्य रहेको छ । यसैबीच, काठमाडौँ जिल्लालाई सन् २०१६ मा मात्र खुला दिसामुक्त क्षेत्र घोषणा गरिने भएको छ । सचिव थापाले भन्नुभयो “तीनवर्षभत्रमा बागमती, विष्णुमतीलगायतका नदीमा ढलमिसाउने कार्य बन्द हुन्छ, यसपछि मात्र खुला दिसामुक्त घोषणा हुन्छ ।” रासस